प्रश्न: प्रतिलिपि अधिकार भनेको के हो ? लेख्नुहोस् ।
उत्तर- मानव हितका लागि मौलिक एवम् बौद्धिक रूपले सिर्जना गरिएका रचना, प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई कानुनद्वारा प्रदान गरिने एकलौटी अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ । यसमा स्रष्टाको सिर्जनामा प्रतिलिपि अधिकार संरक्षण हुन्छ । स्रष्टा तथा साधकहरूको असीमित कल्पना, गहन सोचाइ र निरन्तरको बौद्धिक प्रयासबाट मात्र सिर्जनाको उत्पत्ति हुने हुँदा स्रष्टाहरूको सिर्जना माथिको आर्थिक र नैतिक अधिकारको सुनिश्चितता प्रदान गर्न यसले मद्दत गर्दछ । बौद्धिक सम्पत्तिका दुई हाँगामध्ये एउटा प्रतिलिपि अधिकार हो र अर्को औद्योगिक सम्पत्ति अधिकार हो । औद्योगिक सम्पत्ति अधिकारअन्तर्गत आविष्कारमूलक कामका लागि पेटेन्ट अधिकार, वस्तुको मौलिक डिजाइनको संरक्षणका लागि डिजाइन अधिकार र वस्तु तथा सेवाहरूलाई अरूको भन्दा फरक देखाउन र चिनाउन उत्पादकले प्रयोग गर्ने चिह्नहरूको संरक्षणका लागि ट्रेडमार्क अधिकार पर्दछन् । प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ, दर्ता गर्नुपर्दैन तर प्रमाण पुर्याउन सजिलोका लागि स्वेच्छिक रूपमा दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिलिपि अधिकार सङ्केत गर्न © चिह्न प्रयोग गर्ने चलन पनि छ । नेपालले स्रष्टाहरूको सिर्जनाको संरक्षण गर्न प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी कानुनको प्रमुख आधारका रूपमा रहेको सन् १९८६ को वर्न महासन्धि अनुमोदन गरेको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवम् विश्व व्यापार सङ्गठनको सदस्य भएको छ । प्रतिलिपि अधिकार ऐन, २०५९ र प्रतिलिपि अधिकार नियमावली, २०६१ तर्जुमा गरी लागू गरिएको छ । नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय स्थापना गरिएको छ र पनि नेपालमा प्रतिलिपि अधिकारको सचेतना एवम् संरक्षण व्यवस्थित हुन सकेको पाइँदैन ।